काठमाडौं – अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने भएको छ । आज १५ असोजदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो ।

टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार सिममा १० रुपैयाँ ब्यालेन्स पनि हुने छ । यसैगरी, ४० मिनेट कुराकानी गर्न सकिने, २० वटा मेसेज पठाउन मिल्ने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा हुने जोशीले बताउनुभयो । सुविधा एक महिनासम्म उपलब्ध हुने उहाँले बताउनुभयो । संयुक्त राष्ट्र सङ्घको आयोजनामा विश्वव्यापी रूपमा १ अक्टोबरमा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक १५ असोजमा परेको छ ।

टेलिकमका देशभरका कार्यालयका काउन्टरबाट ज्येष्ठ नागरिकले उक्त सुविधा उपलब्ध हुनेछ । सो सुविधाका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र बुझाउनु पर्नेछ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले जेष्ठ नागरिकलाई दूरसञ्चार र सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने टेलिकमको विश्वास छ । रासस