काठमाडौं – नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२:१५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आजदेखि तिनदिनसम्म चल्ने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । आज पहिलो दिन प्रस्तुत गरिने तीन प्रतिवेदन एवं प्रस्तावमाथि महाधिवेशनको दोस्रो दिन समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने एमालेले जनाएको छ । महाधिवेशनको अन्तिम दिन समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले स्पष्ट पार्दै सार संक्षेपीकरण गर्ने कार्यसूची रहेको छ ।

विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने एमाले जनाएको छ । विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखसमेत विधान महाधिवेशनमा प्रतिनिधि हुने व्यवस्था रहेको छ ।

पार्टीको जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ–सङ्गठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यसमेत महाधिवेशन प्रतिनिधि रहनेछन् । महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न मूल व्यवस्थापन समिति गठन गरिएको छ। पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजकको उक्त समिति गठन गरिएको हो। जसमा शेरबहादुर तामाङ सचिव र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेका छन् ।

समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको थियो। पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार महाधिवेशन सम्पन्न गर्न पार्टी निकट अनेरास्ववियु, युवा सङ्घ नेपाल, जिफन्ट र खेलकुद महासङ्घबाट २०० को सङ्ख्यामा स्वयंसेवकको व्यवस्था गरिएको बताइएको छ । कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मलगनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ ।

विधान महाधिवेशनस्थल गोदावरीमा बिहीबारदेखि नै चहलपहल बढेको छ। राजधानी बाहिरका जिल्लाबाट आएका प्रतिनिधिहरु बिहीबार नै महाधिवेशन स्थल पुगेका थिए । महाधिवेशन अवधिभर प्रतिनिधिहरूलाई बिहान ९ देखि ११ बजेसम्म खाना खुवाउने, दिउँसो ३ बजे खाजा खुवाउने तथा आवासका लागि प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरूको सहयोगमा व्यवस्थापन गरिने थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।