काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका सीएका विद्यार्थीहरुलाई समकक्षता दिने भएको छ । केही समयअगाडि बिना जानकारी एकाएक समकक्षता दिन बन्द गरेको त्रिविले पुनःआवेदन खुलाएको हो ।

पाठ्यक्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालयका निर्देशक पारसनाथ यादवका अनुसार त्रिविले आइतबारदेखि समकक्षता प्रदानका लागि आवेदन खुला गर्ने भएको हो । उहाँले भन्नुभयो –‘आइतबारबाट योग्य विद्यार्थीले आवेदन दिन सक्ने भएका छन् ।

ईग्नु बि.कम र सीए इन्टरका साथै इग्नु एम.कम र सीए फाइनलका विद्यार्थीले आवेदन दिन पाउँछन् ।‘ त्रिविले एकाएक उच्च शिक्षाका लागि समकक्षता दिन बन्द गरेपछि विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।