काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइएको भएता पनि नेकपा एमालेका नेताहरू भने उपस्थित भएनन् ।

बैठकमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतका शीर्ष नेताहरुको सहभागीता थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक संसदको अवरोधलाई निकास दिने विषयमा केन्द्रित थियो । संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ । आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनुभएको हो । संसदको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास ननिस्किएपछि प्रधानमन्त्रीले नै पहल गर्न थाल्नुभएको हो ।