काठमाडौं – परराष्ट्रमन्त्री डा.नारायण खड्का स्वदेश फर्किनुभएका छ । उहाँ आज बिहान स्वदेश फिर्ता हुनुभएको हो । नेपालका मुद्दा सतर्क र सशक्त रुपमा संयुक्त राष्ट्रसङ्घको महासभामा उठाएको परराष्ट्रमन्त्री डा.नारायण खड्काले बताउनुभएको छ । अमेरिकामा भएको संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी जानुभएका परराष्ट्रमन्त्री खड्काले नेपालका चासो, चिन्ता र हितका विषयहरु उठाएको बताउनुभएको हो ।

महासभामा सहभागी भएर फर्किएलगत्तै आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले भन्नुभयो, ‘भ्रमण राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध बिस्तारका दृष्टिले सफल भएको छ । महासभामा कोभिड १९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा हाम्रो कुरा राखेका छौँ।’

मन्त्री खड्काले कोभिड–१९ को प्रभावबाट विश्वलाई मुक्त गर्नका लागि खोपसहितका अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीको समान पहुँचको कुरा आफूले उठान गरेको बताउनुभएको छ । यस्तै जलवायु परिवर्तनले हिमशृङ्खलामा ल्याएको परिवर्तनमा विश्व समुदायले चासो दिनुपर्ने कुरा पनि आफूले उठाएको बताउनुभयो ।

भूपरिवेष्ठित देशको आर्थिक उन्नति, दीगो विकासका लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यबारे पनि कुरा गरेको मन्त्री खड्काले जानकारी दिनुभयो । यसैबीच भ्रमणको क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसहितसँग शिष्टाचार भेटवार्ता भएको उहाँले बताउनुभयो । मन्त्री खड्काले भन्नुभयो ‘भारतका विदेशमन्त्रीसँग सौहार्द भेट भयो । आपसी हित र चासोका विषयमा कुराकानी भयो । सहकार्यलाई थप बलियो गरी अघि बढाउनेबारे सौहार्दपूर्ण कुराकानी भएको छ ।’

मन्त्री खड्काले आफूले एमसिसीबारे बाहिर आएजस्तो केही नबताएको दाबी गर्नुभएको छ । उहाँले संसदबाट पारित गर्नुपर्ने व्यवस्था रहेकाले त्यसो नभएमा ‘नमान्लान् कि’ मात्रै भनेको स्पष्ट पार्नुभयो ।