काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । तर उक्त बैठकमा एमाले सहभागी नहुने भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा आफूहरू सहभागी नहुने जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘सत्तापक्ष र प्रतिपक्षको छलफल हुनुपर्छ । सर्वदलीय बैठकमा हामी सहभागी हुँदैनौँ भनेर पहिलेदेखि नै भन्दै आएका छौँ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा काङ्ग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।