काठमाडौं – देशभर आजको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, प्रदेश दुई, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान देशको आधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भई एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको पनि सूचनामा जनाइएको छ ।

मौसमविद्का अनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।