काठमाडौं – सङ्घीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । एमालेले पटक–पटक प्रतिनिधिसभाको बैठकमा नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदको नाराबाजीबीच संसदको नियमित कामकारवाही अगाडि बढाउँदै आउनुभएको छ ।

एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ । संसद्लाई विना अवरोध चलाउने वा संसदको जारी अधिवेशन अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।

यसअघि, सभामुखले बोलाएको सर्वदलीय बैठक भने एमालेले बहिष्कार गरेको थियो । आजको संसद् बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।