काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिनुभयो । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताउनुभयो । वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उहाँको भनाई छ ।

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि एक करोड खोप सुनिश्चित गरिएको बताउँदै भन्नुभयो, ‘करिब ३ महिनाको अवधिमा १ करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु । किनभने हामीले १ करोेड ७७ लाख खोप ल्याइसकेका छौं । यो दसैँसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु ।’

राज्यमन्त्री श्रेष्ठले हाल आएर एक दिनमा ३ लाख जनतालाई खोप लगाइरहेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, फ्रन्ट लाईनरहरुलाई खोपमा उच्च प्राथमिकता दिइएको छ । १८ वर्षभन्दा माथिका १४ वटा हिमाली जिल्लाहरुका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरिएको छ । बालबालिकाहरुका लागि पनि एक करोड खोपको सुनिश्चित गरिएको छ ।’

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागि परेको बताउनुभयो । कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदूषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न सबै नागरिकलाई आह्वान समेत गर्नुभएको छ । उहाँले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिनुभएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएको बताउनुभयो । उहाँले साइकल चढेर नागरिकहरुले शारीरिक व्यायाम गरुन् भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साइकल ट्रयाक बनाउने योजना तय गरेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. रवि मल्ल, क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्रप्रसाद बराल, मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले, स्नायु रोग विशेषज्ञ डा.वसन्तराज पन्त र समाजसेवी कृष्ण कँडेललाई सम्मान गरिएको थियो ।