काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक भोलिका लागि बोलाउनुभएको छ । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरेपछि भोलिका लागि बैठक बोलाउनुभएको हो ।

सत्ता गठबन्धनका नेता तथा जसपा अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो – “गठबन्धनको बैठक भोलि बिहानका लागि बोलाइएको छ,” “भोलि सम्भवत मन्त्रालयको भागवण्डाको टुङ्गो लाग्छ ।” उहाँका अनुसार भोलि मन्त्रालयको भागवण्डा मिले पनि भोलि नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम छ । जसपा र नेकपा एकीकृत समाजवादीबीच अध्यादेश खारेजीपछि मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसपछि मात्रै अध्यादेश खारेज गर्ने अडानका कारण प्रधानमन्त्री अलमलमा परेको थियो ।

लामो प्रतिक्षापछि पनि जसपाले अध्यादेश खारेज नहुँदासम्म सरकारमा सहभागी नहुने अडान लिएपछि गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्ने निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट सोही दिन अध्यादेश खारेज भए यता सत्ता गठबन्धनको बैठक बस्न नसक्दा मन्त्रिपरिषद् विस्तार पनि अनिश्चित भएको छ ।