काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताउनुभएको छ । जितिया पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संस्कृति र संस्कारमा नेपालको विशिष्ट पहिचानका विशेषता रहेको बताउनुभयो ।

विविधताभित्र एकता र सामाजिक सद्भाव नेपाली सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उल्लेख गर्नुभयो । यस पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विविध संस्कार, संस्कृति रीतिरिवाज एवं मूल्यमान्यताले जितियालगायत पर्वको विशिष्ट महत्वलाई आत्मसात् गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्वर्द्धनमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ । जितिया पर्व मनाउने सबैलाई एकताबद्ध भई हर्षोल्लास पूर्वक मनाउन प्रधानमन्त्री देउवाको आग्रह छ । यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी देउवाले शुभकामना व्यक्त गर्नुभयो ।