काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री खाँणले नागरिकलाई अनुभूत हुने गरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो ।

“अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुप¥यो, “नागरिकले महँगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन”, मन्त्री खाँणले भन्नुभयो, “अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था रहनुप¥;यो र चाडपर्वमा परिवर्तन देखिनुप¥;यो । ” उहाँले परिवर्तनको परिणम देखिने गरी काम गर्न र जनतालाई चुस्त सेवा दिन आग्रह गर्नुभएको छ । सडकको अवस्था र अन्य नागरिकसँग सरोकार राख्ने विषयमा आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर चुप लागेर नबसी कसको क्षेत्राधिकारमा पर्ने हो, त्यो निकायलाई घच्घच्याउन पनि निर्देशन दिनुभयो । उहाँले मन्त्रालयले चाडपर्वका बेलामा गर्नुपर्ने कामको विषमया जानकारी दिनसमेत आग्रह गर्नुभयो ।

बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंह, ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी किरण बज्राचार्य र भक्तपुर प्रहरी प्रमुख एसपी शिवकुमार श्रेष्ठले चाडपर्व लक्षित सुरक्षा योजना र बजार व्यवस्थापनबारे योजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले ट्राफिक व्यवस्थापनबारे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री खाँणले ती योजना सुनेपछि योजनालाई व्यवहारमा कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभएको थियो । गृहसचिव टेकनारायण पाण्डेले म माथि राज्यको निगरानी छ भन्ने कुराको अनुभूति नागरिकलाई दिलाउन सकेमा मात्रै सफल हुन सक्ने भन्दै त्यस विषयमा ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो । उहाँले चाडपर्वका बेलामा हुने बजार मूल्यमा बढोत्तरी, म्याद गुज्रेका खाद्य सामग्री बिक्री र कालोबजारी रोक्न विशेष ध्यान दिन पनि निर्देशन दिनुभएको हो । रासस