काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वका सबै जनताको भविष्यलाई सुरक्षित बनाउन बहुपक्षीय समझदारी जरुरी रहेकोे बताउनुभएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभालाई सम्बोधन गर्दै मन्त्री खड्काले राष्ट्रसङ्घलाई केन्द्रमा राखेर गरिने साझा सहकार्यको पक्षमा नेपाल रहेको बताउनुभएको हो ।

उहाँले कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्र धरापमा पारेको र थप १५ करोड जनसङ्ख्यालाई अति गरिबीमा धकेलेको बताउनुभयो । महामारीपछि सिर्जित सङ्कटलाई अब अवसर र आशामा बदल्ने समय आएको पनि उहाँले बताउनुभयो । त्यसै गरी, नेपालले कसैसँग दुस्मनी नलिने र सबैसँग मित्रवत् सम्बन्ध राख्ने नीति लिएको पनि उहाँले बताउनुभएको छ । परराष्ट्रमन्त्री डा.खड्काले भन्नुभयो– ‘सहकार्य, एकता र आपसी विश्वासको जगमा बलियो, अन्तरसम्बन्धित र समावेशी बहुपक्षीय प्रणाली बनाउनुपर्ने समय आएको छ ।’

मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभाका सभापति तथा मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह साहिदलाई भेटेर बधाई दिनुभएको छ । यसैगरी उहाँले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अतुल खरे, भारतका विदेशमन्त्री एस जयशङ्कर, बङ्गलादेशका विदेशमन्त्री अब्दुल मोमेन, कुवेतका विदेशमन्त्री अहमद नसेर अल महोम्मदलगायत कुटनीतिज्ञहरुसँग मन्त्री खड्काले भेट गर्नुभयो ।