काठमाडौं – राजनितिक दल सम्बन्धी अध्यादेशबारेको विवाद टुङ्गो लागेपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ । सत्ता गठबन्धनबीच सहमति जुटेको अवस्थामा भोलिसम्ममा नयाँ मन्त्री चयन हुने गरी प्रधानमन्त्री देउवाले तयारी थाल्नुभएको छ । तर, मन्त्रिपरिषद विस्तारका क्रममा ठूला नेताहरुलाई छल्नका निम्ति उपप्रधानमन्त्री नराख्ने रणनीतिक योजनामा प्रधानमन्त्री देउवा लाग्नुभएको छ ।

उहाँका अनुसार उपप्रधानमन्त्री राख्ने अवस्थामा काङ्ग्रेसबाट प्रकाशमान सिंह र विमलेन्द्र निधिले समेत दाबी गर्ने सम्भावना रहेको देखिन्छ । उपप्रधानमन्त्री बनाउँदा माओवादीले नारायणकाजी श्रेष्ठलाई पठाउनुपर्ने हुन्छ, तर उपप्रधानमन्त्रीको पद दिलाउन नै हो भने देवेन्द्र पौडेललाई पठाए पनि हुन्छ ।

त्यसैगरी, एमालेबाट राजीनामा दिनुभएका वामदेव गौतमले पनि उपप्रधानमन्त्रीसहित सरकारमा जाने प्रस्ताव माधवकुमार नेपालसमक्ष राखिरहनु भएको स्रोतको दाबी छ । यो अवस्थामा प्रधानमन्त्री देउवाले आफ्नो पार्टी र अरु गठबन्धन दलबाट पनि कनिष्ठ नेताहरुलाई मन्त्री बनाउन चाहेको सत्ता गठबन्धनको बुझाइ छ ।