काठमाडौं – सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । गठबन्धनको आज बैठक बसेर मन्त्रालय भागबन्डा मिलाउने र भोलि गठबन्धन दलले आ–आफ्नो पार्टीमा निर्णय गरी मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई दिने तयारी थियो । तर, प्रधानमन्त्री शेरहादुर देउवा आफ्नै पार्टीको विवाद मिलाउनमा नै व्यस्त भएपछि अहिलेसम्म गठबन्धनको बैठक आह्वानसमेत गरिएको छैन ।

पार्टीको प्रदेश नम्बर–२ का आठ जिल्लाको क्रियाशील विवाद थप चर्किँदै जएपछि यसअघि छलफल गरेर बन्द गरिएका फाइलसमेत पुनः खोल्ने अवस्था सिर्जना भएको छ । कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील विवाद समाधान समितिले गरेका निर्णयसमेत कार्यदलबाट कार्यान्वयन हुन नसकेपछि प्रदेश नम्बर–२ को वडा अधिवेशन नै दसैँपछि पुग्ने अवस्था निर्माण भएको छ । बालुवाटार स्रोतका अनुसार, “प्रधानमन्त्रीज्यू पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानमा आज बिहानदेखि नै व्यस्त हुनुहुन्छ, पार्टीका फरक–फरक टिमसँग छलफल गरिरहनुभएको छ ।” “आज चाँडै पार्टीको विवाद समाधानको प्रयासले सार्थकता पायो भने साँझसम्म गठबन्धन बैठक बस्न सक्छ ।”

स्रोतका अनुसार आज सम्भव नभए भोलि बिहान बैठक बसेर मन्त्रिपरिषद्मा गठबन्धनको सहभागिताका विषयमा भागबण्डा टुङ्ग्याइनेछ । गठबन्धनका दलहरूबीच नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय लिने र गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसापा)ले पाँच पाँच मन्त्रालय लिने सहमति भएको थियो । तर, प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशन र पार्टीभित्रको विवादलाई कारण बनाएर काङ्ग्रेसलाई अझै एक मन्त्रालय थप्नुपर्ने बताइरहेका छन् ।

तर, गठबन्धनका दलहरू अहिले पाएका मन्त्रालयमा समेत पार्टीमा विवादमुक्त निर्णयमा जटिलता आएको भन्दै मन्त्रालयको संख्या घटाउन तयार भएका छैनन् । त्यसैले मन्त्रिपरिषद्मा भागबण्डाको टुङ्गो लगाउन गठबन्धनको बैठक पुनः बस्न लागेको थियो । “मन्त्रालयको संख्यामा पाँच मन्त्रालय एक राज्यमन्त्रीसहित ६ जना भन्ने समझदारी भइसकेको छ, त्यसमा पुनः छलफल हुन सक्दैन,” जसपाका एक नेताले भने, “अब कुन मन्त्रालय कसले लिने, उपप्रधानमन्त्री राख्ने कि नराख्ने, उपप्रधानमन्त्री राख्दा कतिजना राख्नेजस्ता विषयमा छलफल हुने हो ।”

ती नेताका अनुसार जसपाले पार्टीका तर्फबाट मन्त्री टुङ्ग्याउने जिम्मा शीर्ष नेतृत्वलाई दिइएको छ । गठबन्धनमा सहमति भए जसपाबाट सरकारमा जाने मन्त्रीको टुङ्गो जसपाका शीर्ष नेताहरूले केही मिनेटभित्रै लगाउन सक्छन् । नेकपा (एकीकृत समाजवादी)ले मन्त्री बन्ने मापदण्ड बनाइसकेकाले कुनै जटिलता नभएको जनाएको छ । अन्तिम समयमा मतदान गरेका किसान श्रेष्ठ–प्रेम आलेको समूहबाट श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको त्यो समूहका एक सदस्यले बताएका छन् । त्यसबाहेकका विषय भने पार्टींले निर्णय गरेअनुरूप नै हुने बताइएको छ ।