काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्थताका कारण बैठक स्थगित भएको उहाँले बताउनुभयो । आज बोलाइएको बैठकमा विभिन्न सम्मेलनको मिति टुङ्ग्याउने, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, आयोगहरुको फर्मेसन गर्ने एजेण्डा थियो । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा जाने मन्त्रीका विषयमा टुङ्गो लगाउन बैठक सारिएको बुझिएको छ ।