काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने हुनुभएको छ । हिजो दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो । अध्यादेश निष्क्रिय नभइ सरकार विस्तार भए सत्ता गठबन्धनभित्रका दलहरुमा असन्तुष्टि बढेर पार्टी नै विभाजन हुन सक्ने भय दलहरुमा थियो ।

सरकारले केही समयअघि माधवकुमार नेपाल र महन्थ ठाकुरलाई दल विभाजनका लागि सहज बनाउन अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने व्यवस्था उल्लेख गरिएको थियो । सोही अध्यादेशका आधारमा नेकपा (एमाले) विभाजन भएर नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भइसकेका छन् ।

यसैबिच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको छ । एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिस भएको छ ।