काठमाडौं – अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । आज पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन,’ नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्दै उहाँले भन्नुभयो ‘समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुन सक्छ ।’

अबको सन्दर्भमा सङ्गठनको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउंदै अर्थमन्त्री शर्माले पार्टी र जनवर्गीय सङ्गठनहरुका हरेक इकाइलाई उत्पादन इकाईको रुपमा बदल्नुपर्ने बताउनुभयो । उहाँले राजनैतिक सत्ता परिवर्तन भएपनि पुरानो सामाजिक सांस्कृति सत्ता यथावत रहेको चर्चा गर्दै दलित समुदायमाथि भइरहेको सांस्कृतिक उत्पीडन र विभेद त्यसकै परिणाम भएको उल्लेख गर्नुभयो । उहाँले दलित मोर्चाको नेतृत्वमा सामाजिक सांस्कृतिक आन्दोलन सशक्त बनाउँदै त्यसलाई सङ्घर्षको एजेण्डाको रुपमा अघि बढाउन आग्रह गर्नुभएको छ ।

सरकारले पहिलो पटक गरिब र विपन्नहरुलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्दै अर्थमन्त्री शर्माले दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च दिने व्यवस्था पनि पहिलो पटक नै गरिएको बताउनुभयो । उहाँले वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनिकरण लगायतको दिशामा सरकारले प्रतिस्थापन बजेटमार्फत काम सुरु गरिसकेको जानकारी दिनुभएको छ ।