काठमाडौं – नेकपा एमालेका नेता शङ्कर पोखरेलले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश चोर बाटोबाट फिर्ता लिएको टिप्पणी गर्नुभएको छ । उहाँले आफैँले जारी गरेको अध्यादेश आफ्नै लागि गलपासो हुने भएपछि सरकारले चोर बाटोबाट फिर्ता लिएको टिप्पणी गर्नुभएको हो । संविधान र कानुनको दुहाई दिने गठबन्धन सरकारले सर्वोच्चका न्यायाधीशहरूको लाज समेत नराखि दिएको भन्दै उहाँले कटाक्ष गर्नुभएको छ ।

‘संविधान र कानुनको दुहाई दिने गठबन्धनले आफैँले जारी गरेको दलविभाजन सम्बन्धी अध्यादेश आफ्ना लागि गलपासो हुने भएसी चोरवाटोवाट फिर्ता गरेछ । कम्तीमा सर्वोच्चका श्रीमानहरूको लाज त राखिदिनुपर्ने हो परमादेशी सरकारले’, पोखरेलले सामाजिक सञ्जालमा ट्विट गर्दै लेख्नुभएको छ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश हिजो सोमबार फिर्ता लिएको थियो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसलगत्तै सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश खारेज गर्नुभयो ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत मात्रै भए पनि दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । यो अध्यादेशपछि सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता भएको छ । यस्तै जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको छ । अध्यादेश खारेज नगरे मन्त्री बन्न नपाउनेहरूले सत्ताधारी दल नै फुटाइदिने त्रास गठबन्धनमा थियो ।