काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज अध्यादेश खारेज गर्नुभएको हो ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । संविधानको धारा ११४ अनुसार सरकारले संसद अविधेशन नचलेको बेला अध्यादेश जारी गर्न र जुनसुकै बेला फिर्ता लिन सक्छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम अध्यादेश खारेज गरिएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छः ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ ।’