काठमाडौं – आफ्नो भनाइ बङ्ग्याएर समाचार प्रकाशित गरेको भन्दै परराष्ट्रमन्त्री डा.नारायण खड्का असन्तुष्ट बन्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएका खड्काले आइतबार मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का सम्बन्धमा आफूले बोलेको भनाइलाई गलत अर्थ लाग्ने गरी समाचार बनाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

हिजो आइतबार उहाँले न्यूयोर्कको एक कार्यक्रममा अमेरिकाले एमसीसी फिर्ता लाने तर नसच्याउने भनेको भन्दै समाचार प्रकाशित भएको थियो । तर सो कार्यक्रममा आफूले सो अभिव्यक्ति नदिएको उहाँको दाबी छ ।

उहाँले एमसीसीका बारेमा सबै दलका प्रतिनिधि, राजदूतावासका कर्मचारी लगायतको उपस्थितिमा आफूले बोलेको उल्लेख गर्नुभएको छ । एमसीसीले नेपालले सोधेका सबै प्रश्नको जवाफ दिएको सन्दर्भमा अहिले संशोधन गर्न नमान्न सक्ने भनाइ मात्रै राखेको खड्काले दाबी गर्नुभएको हो ।

उहाँले कार्यक्रममा नेपालको हितमा हुने भए एमसीसी लिन सकिने, तर लिनै पर्छ भन्ने बाध्यता नभएको भनाइ राखेको जिकिर गर्नुभयो । यही विषयलाई आफ्नो दृष्टिकोण अनुसार समाचार बनाइएको भन्दै उहाँले प्रश्न गर्नुभएको छ, ’के यसरी नै हामी अगाडि बढ्छौं, देश अगाडि बढ्छ ? ’