काठमाडौं – नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल पुनर्गठन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेता रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल पुनर्गठन गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

‘भीम रावललाई कार्यदलको संयोजक तोकिएको छ । पहिला ६ जना हुनुहुन्थ्यो अहिले एक जना शंकर पोखरेललाई पनि समावेश गरिएको छ । कार्यदलको बैठक भोली नै भीम रावलले बोलाउनु भएको छ । देशभरी कहाँ कहाँ कार्यान्वयन भएको छैन उहाँहरुले कार्यान्वयनका लागि सहजीकरण गर्नुहुन्छ’, बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

१० बुँदे कार्यान्वयन नभएकोमा सहजीकरण गर्ने उहाँले बताउनुभयो । त्यस्तै बैठकले जनसंगठनको समस्या, विधान महाधिवेशन हल गर्न महासचिव ईश्वर पोखरेलको कार्यदललाई निर्देशन दिएको छ । तलको समस्या हल गर्ने, विभागको समस्या हल गर्ने, केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजनको प्रस्ताव गर्ने, केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्यहरूको गृहकार्य गर्ने जिम्मेवारी रावल नेतृत्वको कार्यदलले पाएको छ ।

कम्युनिस्ट पार्टीमा देखिएका विभिन्न चिन्तनसँग वैचारिक सङ्घर्ष गर्दै अघि बढ्ने प्रतिवेदनमा समेटिएको विषयलाई थप स्पस्ट पारेको एमालेले जनाएको छ । त्यस्तै आजको एमाले बैठकले मुख्य प्रतिस्पर्धी शक्तिसँग प्रतिस्पर्धा गर्न अन्य सवै राजनीतिक शक्तिहरूसँग एकतावद्ध हुदै अगाडि बढ्ने र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने दिशामा नेकपा एमाले अविचलित ढङ्गले अघि बढ्ने निर्णय गरेको छ । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजका बारेमा थप स्पस्ट हुनेगरी छलफल गर्नुका साथै विधान महाधिवेशनमा पेश हुने दस्तावेजहरूलाई एकरुपताका साथ अघि बढाउने सहमति भएको भट्टराईले बताउनुभयो ।