फाइल तस्वीर ।
काठमाडौं – आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गरेका छन् । मन्त्री कार्कीका अनुसार बैठकले सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्सँग पेश गर्न स्वीकृत दिने र रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वृीकत गर्ने निर्णय गरेको छ । तेजाब तथा अन्य घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्यसम्पादन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्मा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै, शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय पनि भएको छ । बैठकले समाजकल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी तथा सदस्य सचिव पुष्कर खाती साथै सदस्यहरू मणिराम बञ्जारे, गोविन्दबहादुर शाही, नानीमाया थापा ,ब्रम्हध्वोज गुृरुङ र सुशिला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोर्खापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिष्द्को बैठकले साहित्यकार तथा नेपाली काङ्ग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एव कानुन मन्त्री कार्की पत्रकारहरुलाई जानकारी गराएका छन् ।