फाइल तस्वीर ।
ललितपुर– ललितपुरस्थित बालकुमारीको च्यासलमा भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको बताउनु भएको छ । अध्यक्ष ओलीले आफुहरु सत्ता रहँदा र नरहँदा जहाँ भएपनि जनताको पक्षमा राम्रो काम गरेको दावि गर्दै आगामी निर्वाचनमा जनता सामु जान थुप्रै एजेण्डा भएको बताउनु भएको हो ।

अध्यक्ष ओलीले सम्बोेधनका क्रममा ‘हामीले जनतासँग कसरी भोट माग्ने ? भन्ने अवस्था छैन, राम्रो काम गरेका छौं, भन्दै नराम्रो काम मात्रै गर्नेले पनि चुनावमा जान्छौँ भनिरहेका छन् भने हामी किन डराउने ?’ भन्नुभएको छ । अध्यक्ष ओलीले १० बुँदे सहमित कार्यान्वयन असन्तुष्टि व्यक्त गरिरहेका नेताहरुलाई पार्टीलाई गतिशिल र अनुशासित बनाउने काममा लाग्न निर्देशन दिनु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका केपी शर्मा ओलीले ‘एमाले अनुशासित, मर्यादित, गतिशिल, विधिमा आधारित पार्टी बनाउन आवश्यक रहेको भन्दै त्यसका निम्ति विधानले व्यवस्था गरे अनुरुप अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

एमालेको संगठनात्मक संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउने भनेर असार २८ गते भएको १० बुँदे सहमित कार्यान्वन नभएकोप्रति दश जना स्थायी समिति सदस्य र केन्द्रीय सदस्यले विरोध जनाउँदै आएका छन् ।