साङ्केतिक तस्वीर ।

कैलाली — धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको विषयलाई लिएर तनाव उत्पन्न भएको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका–२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि उनका आफन्त आक्रोशित हुँदै अस्पताल घेराउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए अनुसार डाक्टरको लापरवाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पीडित पक्षबाट हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखी अहिले दुवै पक्षबीच छलफल भैरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभएको छ ।

प्रशव बेथा लागेपछि कल्पना मल्ललाई परिवारले शनिबार बिहान ११ बजे उक्त अस्पतालमा भर्ना गरेको थियो । सुत्केरी भइसकेपछि उनको अवस्था जटिल गएपछि मल्ललाई आईसीयूमा भर्ना गरिएको परिवारले जनाएको छ । उपचारकै क्रममा कल्पनाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको प्रहरीले जनाएको छ । सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनावलाई हल गर्न मृतकका परिवार र अस्पताल प्रशासनबीच प्रहरी प्रशासनले मध्यस्तता गरेको प्रहरीले जनाएको छ ।