परराष्ट्रमन्त्री खड्का, फाइल तस्वीर
काठमाडौं– अमेरिकाको न्यूयोर्कमा भैरहेको संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन पुग्नु भएका परराष्ट्रमन्त्री डा। नारायण खड्काले बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरुबीच द्वि–पक्षीय, क्षेत्रीय र बहु–पक्षीय सहयोग प्रवद्र्धधनबारे विषयमा विचार विमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

भेटवार्ताका क्रममा व्यापार, लगानी, जलविद्युत विकास, सीमापार ऊर्जा व्यापारलगायत आपसी हितका विषयमा छलफल केन्द्रित रहेको थियो । दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाएको नियोगले जनाएको छ ।

शनिबार नै मन्त्री खड्काले ७६ औँ महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानव अधिकार, राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गर्नुभएको थियो । परराष्ट्रमन्त्री खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको नियोगले जनाएको छ ।

प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसङ्घमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गर्नुभएको थियो । रासस