एमाले केन्द्रीय कमिटी बैठक, फाइल तस्वीर ।
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बैठक आज आइतबार ११ बजे बस्ने भएको छ । ललितपुरको बालकुमारी ज्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पार्टीको विधान महाधिवेशनलाई लक्षित गरी तीन दिनदेखि लगातार बसिरहेको बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल सकिएको छ । नेता भट्टराईका अनुसार हिजो शनिबार १० समूहमा विभाजितमा विभाजन गरी प्राप्त सुझाव र धारणाहरु टोली नेताहरुले बैठकमा पेश गरेका थिए ।

शुक्रबारदेखि सुरु बैठकमा भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले तीनवटै प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए । टोली नेताहरुको धारणा सकिएसँगै शनिबारको बैठक स्थगित गरी आज आइतबारका लागि केन्द्रीय समितिको बैठक बस्ने तय भएको थियो ।

हिजो भएको समूहगत धारणा राख्नेक्रममा अधिकांश नेताहरुले पार्टीमा सत्तरी वर्षे उमेर हद कायम गरेर जान सुझाव दिए छन् । पार्टी विभाजन भएको हुँदा पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित गरेर जानुपर्ने टोली नेताले नेतृत्वलाई सुझाएका छन् ।

बैठकबारे जानकारी दिंदै प्रचार विभाज प्रमुख योगेश भट्टराईले आगामी स्थानीय निर्वाचनमा पहिलेभन्दा बढी र संसद तथा प्रदेश निर्वाचनमा बहुमत ल्याउने गरी जानुपर्ने सुझाव आएका बताएका छन् । आज बस्ने बैठकले प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनुहुने बताइएको छ ।
बैठकमा उठेका विषयवस्तुको बारेमा नेताहरुले जवाफ दिए पछि प्रतिवेदन पास हुने छ । केन्द्रीय कमिटी बैठकले पास गरेको प्रतिवेदनलाई असोज शुक्रबार १५ गतेदेखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुने प्रचार विभाग प्रमुख भट्टराईले बताएका छन् ।