ललितपुर– ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय समिति बैठक अघि समूहगत छलफलका कारण ढिलाई भएको छ । एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल बैठक स्थलमा पुग्नुभएको छैन ।


हिजो शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भैसकेको छ । आजको बैठकमा यस बारेमा छलफल हुने बताइएको छ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि हिजोदेखि नै समूहगत छलफल भैरहेको छ । समूहगत छलफलका लागि १० वटा समुह बनाएर छलफल भैरहेको छ ।


त्यसैगरी ७ वटा प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह छलफल भएको हो । एमालेले आगामी शुक्रबारदेखि आइतबारसम्म पहिलो पटक विधान महाधिवेशन गर्दैछ ।