काठमाडांै– सत्तारुढ दल नेपाली काङ्ग्रेसको आज शनिबारबाट पालिका तहको अधिवेशन सुरु हुँदैछ । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि पालिका तहको अधिवेशन हुन लागेको हो । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा नगर तथा गाउँपालिका तहको अधिवेशन हुन लागेको हो । तर काठमाडौसहितका केही जिल्लामा भने शनिबार पालिका तहको अधिवेशन नहुने भएको काङ्ग्रेसले जनाएको छ । काठमाडौंमा अर्को हप्ता असोज १६ गते पालिकाको अधिवेशन हुनेछ । अरु केही सीमितबाहेक वडा अधिवेशन सकिएका प्रायः सबै जिल्लामा पालिका तहको अधिवेशन बिहान १० बजेदेखि सुरु हुने पार्टीको निर्वाचन समितिले जनाएको छ ।

गत भदौ १८ गतेदेखि प्रारम्भ भएको वडा अधिवेशन ६४ जिल्लामा सम्पन्न भैसकेको छ । क्रियाशील सदस्यतासम्बन्धी विवादले प्रदेश नं २ का आठ जिल्लालगायत सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लामा वडा अधिवेशन नै हुन सकेको छैन । वडाअधिवेशन हुन नसकेको ठाउँमा पालिकाको अधिवेशन पनि हुनेछैन ।

काङ्ग्रेसले आगामी मङ्सिरमा हुने पार्टीको १४ औं महाधिवेशनअन्तर्गत गाउँ र नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । साथै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्ममा गरिसक्ने मिति नै तय भएको छ । तर विवादित जिल्लाहरुको क्रियाशील सदस्यतासम्बन्धी विवादको टुङ्गो नलाग्दासम्म वडादेखिका अधिवेशन नै प्रभावित रहेकोले त्यसको प्रत्यक्ष असर महाधिवेशनमा पर्ने र महाधिवेशनको मिति पुनः सर्न सक्ने अवस्था पनि आउला संस्थापन इतर पक्षको बुझाइ छ । सभापति देउवाले नै पार्टीमा इतरपक्षलाई निषेध गर्न लाग्दा महाधिवेशन नै प्रभावित हुँदै आएको र यसले आम जनतामा नकारात्मक प्रभाव पर्दै जानथालेको इतर पक्षको भनाइ छ ।