काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुत्ता खोल्न लगाएर यात्रुहरूको जाँच गर्न थालिएको छ । केही दिनअघि काठमाडौंबाट नेपालगन्ज हवाईयात्रामा निस्किएका यात्रुको साथमा सुन भेटिएपछि कडाइ गरिएको हो ।
पछिल्लो केही दिनयता विमानस्थलमा सबै यात्रुको जुत्ता खोल्न लगाइएको छ । विगतका दिनभन्दा शरीर जाँचमा पनि कडाइ गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले अवैध कामहरू हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाउन यो विधि अपनाइएको बताउनुभयो ।

एसएसपी बास्तोलाको अनुसार, “विमानस्थलमा सधैँ सुरक्षा व्यवस्था प्रभावकारी नै हुन्छ । सुरक्षा जाँचका विभिन्न तरिका हुन्छन् । अवैध प्रकारका कामहरू हुनसक्छन्, त्यसका लागि विगतको भन्दा जाँच प्रभावकारी बनाएका हौँ ।”
उहाँले अहिले आन्तरिक उडानका यात्रुको जाँच गर्दा जुत्ता खोल्न लगाइएको र सुरक्षाका दृष्टिले आवश्यक परे अन्तर्राष्ट्रिय विमानस्थलमा पनि थप कदम चालिन सक्ने बताउनुभयो ।