काठमाडौं – सरकारको नेतृत्व गरेको नेपाली काङ्ग्रेस भित्र क्रियाशील सदस्यता वितरण सम्बन्धी विवादको उल्झनमा रुमलिंदा आगामी मङ्सिर महिनामा गर्ने भनिएको पार्टीको १४ औं महाधिवेशन पुनः प्रभावित हुने हो कि भन्ने सन्त्रास बढेको छ । देशको ७७ जिल्लामध्य ६४ वटा जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छन् भने अझै १३ वटाका वडाहरुको अधिवेशन कहिले हुने भन्ने मै अन्योलता कायम छ ।
स्थानीयदेखि केन्द्रसम्म गरी सात तहको साङ्गठनिक संरचना रहेको काङ्गेसको निर्वाचनको कार्यसूची अनुसार भोलि शनिबार ६४ वटा जिल्लाका पालिका अधिवेशन हुँदैछ । तर प्रदेश दुईमा भने वडाकै अधिवेशनको प्रक्रिया सुरु हुन सकेको छैन । त्रियाशील सदस्यता वितरणसम्बन्धी सबैभन्दा धेरै विवाद नै प्रदेश दुईका आठ वटै जिल्लामा रहेको छ ।

क्रियाशील सदस्यता वितरणको विवादले पार्टीभित्र संस्थापन पक्ष र इतिर पक्षबीच ठूलो मतभेद रहँदै आएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र कोषाध्यक्ष सीतादेवी यादवले यो विषयलाई गम्भीर रूपमा उठाउँदै आएका छन् । तर संस्थापन पक्षले यस विषयमा खासै चासो नदिएको जस्तो देखाउँदै आएको छ । हिजो बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समिति र केन्द्रीय निर्वाचन समितिका पदाधिकारीलाई पनि राखेर छलफल भएको थियो ।

उक्त बैठकमा वरिष्ठ पौडेलले सिंगो प्रदेशलाई क्रियाशील सदस्यता समेत नदिँदा कस्तो सन्देश गइरहेको छ ? भन्दै संस्थापन पक्ष प्रति आक्रोशित हुँदै ‘ अन्य प्रदेशमा वडा अधिवेशन सकिएर पालिका अधिवेशन आइसकेको छ, प्रदेश नम्बर–२ मा क्रियाशील सदस्यता समेत दिइएको छैन, विवादित भनिएका जिल्लाको विवाद सल्टाइएको छैन । जहाँ विवाद छैन भनिएको छ, त्यहाँ पनि क्रियाशील सदस्यता दिइएको छैन । यो के सन्देश दिने प्रयास गरेको हो’ भन्दै वरिष्ठ नेता पौडेलले सिंगो प्रदेशलाई विवादित भनेर राख्दा काङ्ग्रेस पार्टीप्रति कस्तो सन्देश जाला ? भनि प्रश्न गर्नुभएको थियो ।


हिजो बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेलले प्रदेश–२ को विषयमा गम्भीर हुन्दै ‘सकिन्छ भने प्रक्रियासङ्गत विवाद समाधान गरौं सकिँदैन भने हामीले यसकारण सकेनौं, अब तपाईंहरू जानुहोस् भनेर माफी मागौं’ भनेर धारणा राख्नु भएको थियो ।
ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा कार्यलयमा प्रदेश दुईका पुराना कार्यकर्ताहरु अनशन समेत बसेका छन् । काङ्ग्रेस भित्रको विवादले जनतामा नकारात्मक सन्देश गैरहेको नेताहरुको बुझाइ छ ।


यसैगरी विगतमा सभापति देउवालाई साथ दिंदै आउनुभएका उपसभापति विमलेन्द्र नीधिपनि सोही विषयमा प्रदेश दुईलाई के सन्देश दिन खोजेको हो भन्दै सदस्यता नेताहरुलाई जिम्मेवार हुन आग्रह गर्दै कुनै पनि प्रदेश विवादरहित नरहे पनि समस्या समाधान हुने तर प्रदेश–२ को विवाद समाधान हुन नसक्नुको कारण के हो त ? भनेर बैठकमा प्रश्न उठाउनु भएको थियो ।

कोषाध्यक्ष सीतादेवी यादवले मधेसलाई नेताहरूले नै हेपेको भन्दै आक्रोसित हुँदै ‘मधेसलाई हेप्नुभएको हो ? मधेसमा कसैलाई बोकेर कसैलाई सिध्याउने नीतिले कस्तो काङ्ग्रेस बनाउन खोज्नुभएको छ ? प्रश्न गर्नुभएको थियो । काङ्ग्रेसका शीर्ष नेताहरूको व्यवहारले काङ्ग्रेसको गढ नै भत्किन लागेको भन्दै कोषाध्यक्ष यादवले चिन्ता व्यक्त गर्नु भएको थियो ।

संस्थापन पक्षले स्थानीय तहका र क्षेत्रका पदाधिकारीलाई क्रियाशील सदस्यता फारम नै नदिई क्रियाशील सदस्यता वितरण गरिएपछि धनुषा–४ का नेता डा. चन्द्रमोहन यादव पार्टी कार्यालयमा आमरण अनशन समेत बस्नु भएको थियो । नेता यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुनुहुन्छ । धनुषा–४ को विवाद अहिलेसम्म समाधान हुन सकेको छैन ।

प्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवाले आफूले कतै पनि विवाद ननिम्त्याएको भन्दै विवाद मिलाउन प्रयास भैसकेको भन्दै नेताहरुलाई थामथुम पार्ने प्रयास गर्नुभएको थियो । प्रदेश दुईको विवाद सहजै टुङ्गिने अवस्था नरहेको भन्दै संस्थापन पक्षले इतर पक्षलाई निषेध गर्न खोजेको आरोप लगाएका छन् ।