काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सबै जिम्मेवारीबाट दिनुभएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सबै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाउनुभएको थियो ।

गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उहाँको राजीनामा स्वीकृत गरेन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले गौतमको राजीनामा स्वीकृत नभएको उल्लेख गर्नुभयो । केन्द्रीय कार्यालयका सचिव तामाङले भन्नुभयो–उहाँको राजीनामा स्वीकृत भएको छैन, स्वीकृत नभएकाले उहाँको नामसहित हामीले निर्वाचन आयोगमा अपडेट पठाएका छौं ।

राजीनामा दिएपछि पनि गौतमको नाम अपडेट गरेर निर्वाचन आयोग पठाएकाले राजीनामा अस्वीकृत भएको बुझ्नुपर्ने एमालेका एक स्थायी समिति सदस्यले बताउनुभयो । गौतमले आफ्नो राजीनामा पत्रमा अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशा पालना नगरेको तथा सरकारमा हुँदा साझा घोषणापत्र समेत लागु नगरेको गुनासो गर्नुभएको थियो । उहाँले सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेका विषयलाई समेत अध्यक्ष ओलीले आफूलाई सुधार नगरेको तथा पार्टीका बिचार सिद्धान्त र कार्यदिशा पालना नगरेकोले राजीनामा दिन लागेको कुरा उल्लेख गर्नुभउको थियो ।