काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । गएराती आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताउनुभयो । देउवाले कोभिड १९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपति बाइडेनले राष्ट्रसङ्घीय महासभाको पूर्वसन्ध्यामा आयोजना गर्नुभएको सो भर्चुअल सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । भोलि शनिबार आयोजना हुने राष्ट्रसङ्घीय महासभाको ७६ औं सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।