म्याड्रिड– स्पेनी ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोना काडिजसँग गोलरहित बराबरीमा रोकिंदा अङ्क बाँड्न बाध्य भएको छ । यो बराबरीले बार्सिलोना अङ्क तालिकामा ९ अङ्क जोड्दै सातौं स्थानमा रहेको छ । बार्सिलोनाका फ्रांकी डि योङले खेलको ६५ औँ मिनेटमा दोहोरो पहँेलो कार्ड पाएपछि अन्तिम २५ मिनेट १० खेलाडीमा सिमित हुन पुगेको थियो ।


बार्सिलोनाका लागि मेम्फिस डिपाय गोलको सबैभन्दा नजिक पुगेका थिए । उता गोलकिपर मार्क अन्द्रे टेर स्टेगनले खेलको अन्त्यतिर काडिजका थुप्रै प्रहारलाई बचाउ गरेका थिए । अल्भारो नेग्रेडो, साल्भी सान्चेज र एन्थोनी लोजानोको प्रहारलाई बार्साका गोलकिपरले सुन्दर बचाउ गर्न सफल हुँदा खेल बार्सिलोना हारबाट जोगिन पुग्यो ।


चालु संस्करणको ला लिगामा बार्सिलोनाले ५ खेल खेल्दा दुई खेलमा जित र तीन खेलमा बराबरीमा रोकिएको छ । यो नतिजाले बार्सिलोनाका म्यानेजर रोनाल्ड थप दबाबमा परेका छन् । लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना ७ अङ्कले पछाडि छ । रियल म्याड्रिडले राति खेलेको खेलमा रियल मालोर्कालाई ६–१ को फराकिलो गोल अन्तरले हराएर तालिकाको शीर्ष स्थानमा पुगेको छ । रियल म्याड्रिडले ६ खेल खेल्दै १६ अङ्क बटुलिसकेको छ । त्यस्तै एट्लेटिको म्याड्रिड १४ अङ्क सहित दोश्रो स्थानमा रहेको छ ।