काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताउनुभएको छ । हिजो बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले कोरोना महामारीको खतरनाक रूप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएको भन्दै दुःख व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘मैले भ्याक्सिन भ्याक्सिन भनेको थिएँ, नेपालभर नै छिटै भ्याक्सिनको व्यवस्था पूरा हुँदैछ, मलाई लाग्छ वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसकिने हाम्रो योजना छ । अहिले कोभिडको पनि खतरनाक रूप नेपालमा आएको छ, धेरै मान्छेहरू मरेका छन्, कतिपयलाई कति खतरनाक छ भन्ने कुराको ज्ञान पनि छैन, यसलाई कम गर्नको लागि हामी अवश्य नै काम गर्नेछौँ ।’

उहाँले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यावसायिक र समृद्ध बनाउने कार्यमा लाग्न सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमहरू खोजमूलक र सत्य तथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको समेत उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाल टेलिभिजन सरकारको टेलिभिजन भएकोले विभिन्न सांस्कृतिक,ऐतिहासिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भन्दै उमेर समूहलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।