काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिमा सधैँ उभिएको बताउनुभएको हो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पार्नुभएको छ । उहाँले शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दे यस क्षेत्रमा साझेदारीलाई थप सघन तुल्याउनु पर्ने सुझाब दिनुभयो ।

राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाई सबैको पहुँच सुनिश्चित गर्ने राष्ट्रपति सीको मानवतावादी प्रतिवद्धताबाट नेपाल लगायत विश्वका धेरै देशहरू लाभान्वित भएको भन्दै चिनियाँ नेतृत्वको प्रशंसा गर्नुभयो ।

कार्यक्रम नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच परापूर्व कालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताउनुभयो । राजदूत यान्छीले दुवै देशले पारस्परिक मित्रता एवं विकासबाट विकसित भएको साझेदारीलाई महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले भूगोल र प्रकृतिले नेपाल र चीनलाई एकअर्कासँग निकट बनाएको उल्लेख गर्दै दुई देशलाई महान बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको उल्लेख गर्नुभयो ।