काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभएको छ ।

यसअघि सरकारले ल्याएको संशोधित बजेटलाई संसद्का दुवै सदनबाट पारित भएको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सार्नुभएको थियो । सो विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको थियो ।

राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाउनुभएको थियो । गत भदौ ३१ गतेदेखि सरकारले सङ्घीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति (सटडाउन) निम्तिएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले सटडाउन निम्तिन नदिने गरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न सकेको थिएन ।