काठमाडौं – एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यको टुङगो लगाएको छ । आज बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले सात उपाध्यक्ष, तीन उपमहासचिव, चार सचिव, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो बनाउने निर्णय गरेको हो । साथै केन्द्रीय सदस्यको संख्या थपेर ३ सय १ पु¥याइएको छ । महासचिवमा बेदुराम भुसाल चयन हुनुभएको छ ।

शीर्ष नेताहरूबीच आज बिहान भएको सहमतिमा पदाधिकारी हेरफेर भएको हो । बिहान भएको अनौपचारिक सहमतिमा चार जना उपाध्यक्ष र चार जना सचिव बनाउने भनिएको थियो । तर नेताहरूबीच असन्तुष्टि बढेपछि उपाध्यक्ष संख्या थपेर सात पु¥याइएको छ । राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाललाई उपाध्यक्ष बनाउने सहमति जुटेको थियो । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठलाई बनाउने सहमति जुटेको थियो ।

त्यसैगरी उपमहासचिवमा विजय पौडेल र प्रकाश ज्वालालाई ल्याउने सहमति जुटेको थियो । तर, नेताहरूबीच असन्तुष्टि बढेपछि बिहान भएको अनौपचारिक सहमतिमा हेरफेर भएको हो । त्यसक्रममा उपाध्यक्षमा केशवलाल श्रेष्ठ, घनेन्द्र बस्नेत र केदार न्यौपाने थपिनुभएको छ । सचिवमा प्रस्तावित श्रेष्ठलाई उपाध्यक्षमा लैजाने निर्णय भएको छ । उपमहासचिवमा गंगालाल तुलाधारलाई थप गरिएको छ । सचिवमा प्रस्तावित श्रेष्ठलाई उपाध्यक्षमा लगेपछि सचिवमा राजेन्द्र राई थप हुनुभएको छ ।

स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने भने पदाधिकारीमा परेका छैनन् तर उहाँ तेस्रो वरियतामा रहनुहुनेछ । अध्यक्ष माधव नेपाल वरिष्ठ नेता झलनाथ खनालपछि न्यौपाने रहने केन्द्रीय कमिटीले निर्णय गरेको छ । महासचिवका दाबेदार पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने अनौपचारिक सहमति भएका कारण उहाँ उपाध्यक्ष हुनुभएको हो । अनि प्रदेश एक को मुख्यमन्त्री बन्ने दौडमा रहनुभएका राई सचिव हुनुभएको छ । उहाँ झाँक्रीभन्दा दुई कार्यकालअघि अखिलको अध्यक्ष हुनुहुन्थ्यो ।

युवा पुस्तालाई पदाधिकारीमा बढ्ता संख्यामा ल्याउने एकीकृत समाजवादीको नीति अनुसार सचिव र उपमहासचिवमा दोस्रो पुस्ताका नेताहरूलाई ल्याइएको हो । एकीकृत समाजवादीको ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो गठन भएको छ । एकीकृत समाजवादीका सचिव जगन्नाथ खतिवडाका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी बनेको छ ।