काठमाडौं– सत्ताको बागडोर सम्हालेको नेपाली काङ्ग्रेसमा १४ औं महाधिवेशनको सङ्घारमा आइपुग्दा एक पक्षले अर्को पक्षमाथि जाइलाग्न थालेका छन् । काङ्ग्रेसको अहिलेको गतिविधिलाई हेर्दा पार्टी एकताभन्दा विभाजनतर्फ उन्मुख भएको हो कि भन्ने आभाष हुन थालेको छ ।
क्रियाशील सदस्यासम्बन्धी विवादमा जकडिएको काङ्ग्रेस कार्यकर्ताबीच कुटाकुटको अवस्थामा पुगेको छ ।

पछिल्लो समय वडा अध्यक्षमाथि प्रदेश मन्त्रीले हातपात गरेको भन्दै संस्थापन इतर समूहले पार्टी कार्यालय सानेपामा संस्थापन पक्ष विरुद्ध विरोध प्रर्दशन गरेका थिए । उनीहरुले विरोध प्रदर्शन गरेको केही समय बित्न नपाउँदै संस्थापन पक्षले इतर पक्षको विरोध गरेको छ । पार्टी कार्यालय सानेपामा क्रियाशिल सदस्यता विवादलाई लिएर प्रदेश–२ का महिला बालबालिका र युवा तथा खेलकुदमन्त्री विरेन्द्रप्रसाद सिंहले सर्लाहीकै बर्हथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोमाथि हातपात गरेको विरोधमा इतर समूहले प्रर्दशन गरेको थियो ।

विरोध प्रर्दशनलाई सम्बोधन गर्दै नेता शेखर कोइरालाले ७५ वर्षे नेपाली काङ्ग्रेसको इतिहासमा कहिले यस्तो घटना नभएको भन्दै संस्थापन पक्षको चर्को विरोध गरेका थिए । उक्त विरोध कार्यक्रममा नेता प्रकाशमान सिंह, अमरेशकुमार सिंहको पनि उपस्थिति रहेको थियो । कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा अमरेशकुमार सिंहको अभिव्यक्तिलाई लिएर संस्थापन पक्षका कार्यकर्ताहरुले उनको अभिव्यक्तिप्रति कटाक्ष गर्दै चर्को विरोध गरेका छन् । कार्यकर्ताहरु ले नेता अमरेशकुमार सिंहसहितलाई कारबाही गर्न माग गर्दै नारावाजी गरेको थिए ।