काठमाडौं – नेपाली काङ्ग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा विशेषगरी मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।

काङ्ग्रेसले अझै १३ जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न सकेको छैन । जसले गर्दा महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन हुने भएको छ । काङ्ग्रेसले असोज १८ भन्दा अघि प्रदेशभन्दा तल्ला तहको अधिवेशन गर्ने सक्ने कार्यतालिका सार्वजनिक गरेको थियो । अब दसैंअघि पालिका तहको मात्रै अधिवेशन हुने देखिएको छ ।

सरकार विस्तार गर्न ढिलाइ हुँदा काङ्ग्रेस र पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेको छ । सरकार विस्तारको लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा आफ्नो समूहले पाउने मन्त्रालयको संख्या माग गर्ने र भागबण्डा टुङ्गो लगाउन सभापति एवं प्रधानमन्त्री देउवालाई दवाब दिँदै आएका छन् ।