काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य सुजाता कोइरालाले आफू उप–प्रधानमन्त्री पद नपाए पनि मन्त्री बन्न तयार रहेको बताउनुभएको छ । आज महाराजगञ्जमा बसेको पौडेल समूहको भेलापछि पत्रकारहरूसित कुरा गर्दै कोइरालाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

अहिले कुनै एउटा दलको उप–प्रधानमन्त्री बनाएको अवस्थामा एकीकृत समाजवादी, माओवादी र जनता समाजवादी गरी तीनै दलले उप–प्रधानमन्त्री माग गर्ने भएकाले पनि काङ्ग्रेसबाट उप–प्रधानमन्त्री नियुक्ति नहुने देखिएको छ । सोही कारण देखाउँदै कोइरालाले उप–प्रधानमन्त्री पद नपाएपनि सरकारमा जान तयार रहेको बताउनुभएको हो ।

यसअघि परराष्ट्रमन्त्रीमा उहाँको चर्चा थियो । तर नेपाली काङ्ग्रेसका नेता नारायण खड्काले आजै मात्र परराष्ट्रमन्त्रीको सपथ लिइसक्नुभएको छ । पौडेल समूहबाट दुईजना मन्त्रीको नाम यसअघि नै देउवाले मागिसकेको समेत कोइरालाले बताउनुभएको छ । तर आफ्नै समूहका नेताहरूको ढिलासुस्तिले मन्त्रीको नाम टुङ्गो नलागेको समेत उहाँको भनाई थियो । पौडेल समूहमा मन्त्रीका आकाङ्क्षी धेरै भएकाले कोइराला मन्त्री बन्ने÷नबन्ने टुङ्गो लागेको छैन ।