काठमाडौं –काठमाडौं उपत्यकाका मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ । ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा एप अनलाइन मार्फत नै बुक गरेर घरमा बोलाउन सकिने भएको हो । मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ ।
यस मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरू समावेश छन् जसले नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ । ट्याक्सी सेवालाई डिजिटलाइज्ड र अत्याधुनिक बनाउनका लागि आएको मेट्रो अनलाइन ट्याक्सीले अनौपचारिक रुपमा सेवा सुरु गरिसकेको छ । यसैबीच मेट्रो अनलाइन ट्याक्सीले आज ट्याक्सी चालकहरूका लागि अनलाइन ट्याक्सी सेवा र ग्राहकहरुलाई प्रदान गर्ने सेवाको बारेमा अभिमुखीकरण तालिम पनि सञ्चालन गरेको छ । तालिममा अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने, एपको प्रयोग गर्ने तरिका, ग्राहकहरूसँग गरिने व्यवहार लगायतका विषयहरुमा ट्याक्सी चालकहरुलाई तालिम प्रदान गरिएको छ ।
उक्त तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकहरूको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने र यसले ट्याक्सी सेवालाई मर्यादित तथा व्यवस्थित बनाउने कम्पनीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङले जानकारी दिनुभयो । मेट्रो अनलाइन ट्याक्सीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सी धनी र चालकहरूसँगको सहकार्यमा ट्याक्सीहरूलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्महरूको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको छ ।
मेट्रो अनलाइन ट्याक्सीमा यात्रुहरुले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा उपयोग गर्नसक्ने कम्पनीका प्रशासनिक प्रमुख रविन्द्र भुपाल प्रधानले जानकारी दिनुभयो । ‘हामीले हालसम्मकै सस्तो भाडादरमा आधारित भएर ट्याक्सी सेवा दिनेछौँ । यसमा न्यूनतम ९९ रुपैयाँमा नै यात्रुले ट्याक्सी चढ्न सक्नेछन्, प्रशासनिक प्रमुख प्रधानले भन्नुभयो ।
उहाँले आगामी दिनमा मेट्रो अनलाइन ट्याक्सीमा थप ट्याक्सीहरूलाई सहभागी गराउने र सेवा क्षेत्र बिस्तार गर्ने योजना रहेको बताउनुभयो । मेट्रो अनलाइन ट्याक्सीमार्फत सेवा लिन चाहने यात्रुहरुले एपमा रजिष्टर गरेर मात्र सेवा लिँदा सुरक्षित हुने र यात्रा भरपर्दो बनाउन सकिनेछ भने आगामी दिनमा सेवा सुधारमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
ट्याक्सी स्ट्यान्डमा आएका यात्रुलाई सेवा दिनुपर्दा चालकले एपमा रजिष्टर गराएर मात्र सेवा दिनेछन् । यसले गर्दा यात्रु र चालक दुबै सुरक्षित हुनसक्ने कम्पनीले जनाएको छ । यस मेट्रो अनलाइन ट्याक्सी एपमा आबद्ध हुने ट्याक्सीहरूलाई कम्पनीको निश्चित मापदण्ड अनुसार निःशुल्क ट्याक्सी बीमा गर्दै आएको छ । जसले ट्याक्सी दुर्घटना भएको खण्डमा ट्याक्सी व्यवसायीहरुलाई बीमा सुनिश्चित गर्ने बताइएको छ ।