काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाएको छ । पौडेल पक्षको बैठक आज दिउँसो १ बजे महामन्त्री शशाङ्क कोइरालाको निवास महाराजगञ्जमा बस्न लागेको हो । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएपछि पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको छ । देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट देखिंदै आएको छ । काङ्ग्रेस सभापति देउवाले आफू निकट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनुभएको छ ।

देउवाले आज आफू पक्षकै खड्कालाई परराष्ट्रमन्त्री बनाउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्रीमा पौडेल पक्षबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको दाबी रहेको थियो । तर सभापति शेरबहादुर देउवाले खड्कालाई नै रोज्नुभएको छ । सरकारका सन्दर्भमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा अगाडि बढ्न खोजेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाउँदै आफ्नो रणनीति बनाउन महामन्त्री कोइराला निवासमा बैठक बस्न लागेको हो ।