काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आह्वान गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक आह्वान गर्नुभएको हो । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बोलाइएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायतका विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुङ्ग्याउने तयारी छ ।

यसअघि, पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिका बारेमा निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएता पनि स्थायी समिति बैठकमा छलफल गरेरै टुङ्गोमा पुग्न लागिएको हो । मन्त्रीको नाम टुङ्ग्याएर आजै सरकारमा पठाउने आन्तरिक तयारी रहेको छ ।