काठमाडौं – नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । काङग्रेस सभापति तथा प्रधानमन्त्री समेत रहनुभएका शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको हो ।

आज दिउँसो ३ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । गठबन्धनका दलहरूले मन्त्रीको नाम नदिँदा सरकार विस्तारको काम रोकिएको छ । तर हिजो मङ्गलबार बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारको काम अघि बढाउने सहमति भएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावमा गठबन्धनका नेताहरूले सहमति जनाएपनि काङ्ग्रेसको संस्थापनइतर समूहले आपत्ति जनाएको छ । यसबारे छलफल गर्न देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको हो । आफूहरूसँग छलफल नै नगरी मन्त्री चयन गर्न थालेको भन्दै पौडेल समूहले आपत्ति जनाएको छ ।