काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा झण्डै अढाइ महिना बित्न लाग्दा आज एक जना मन्त्रीलाई नियुक्त गर्ने भएको छ । नेपाली काङ्ग्रेसको विदेश विभाग प्रमुखसमेत रहेका डा. नारायण खड्कालाई आज परराष्ट्रमन्त्रीमा नियुुक्त गरी सपथ गराइने भएको छ ।


हिजो मङ्गलबार बसेको गठबन्धन दलहरुको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउन सहमित जुटेको हो । राष्ट्रसंघीय महासभाको तिथि नजिकिँदै गएको र नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले सार्क मन्त्रिस्तरीय बैठकमा सहभागी जनाउन नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री नहुँदा नकारात्मक सन्देश जाने भन्दै प्रधानमन्त्री देउवाले गठनबन्धन दलका नेताहरूलाई सहमत गराएपछि काङ्ग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयको जिम्मा नारायण खड्कालाई दिन लागिएको हो । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भए पछि नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रसङ्घीय महासभामा सहभागि हुने छन् ।


तर अरु मन्त्री बनाउने विषयमा गठबन्धन दलहरुबीच भित्रै सहमति जुट्न सकेको छैन । कम्तिमा पनि काङ्ग्रेस र माओवादी केन्द्रको भागमा परेका मन्त्रालयमा मन्त्रीहरु पठाउन नसक्नु गठबन्धन दलका शीर्ष नेताहरुको असक्षमताको चरम नमूना हो ।


सरकारले जनतालाई दिनु पर्ने ‘सर्भिस डेलिभर’ गर्न सकेको छैन । तात्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले काम गरेन भनेर सत्तोसराप गर्दै कुर्लिने गठबन्धनका नेताहरुले सरकार गठन भएको अढाइ महिना हुन लाग्दन पनि सरकारलाई पूर्णता दिन नसक्नु उनीहरुमा नेतृत्व गर्ने क्षमतामाथि जनताले मात्र होइन, स्वयम उनीहरुकै पार्टी नेता कार्यकर्तामा समेत नकारात्मक सन्देश प्रवाह भएको छ । गठबन्धन दलहरुले आफ्नो साख क्रमशः गिराउँदै गएका छन् । यसले आगामी तीनै तहको निर्वाचनमा उनीहरुलाई प्रतिकुल प्रभाव पर्ने देखिंदैछ ।