काठमाडौं – पूर्व सभामुख दमननाथ ढुङ्गानाले कम्युनिस्ट पार्टीमा मदन भण्डारीको जस्तै लचकता आवश्यक रहेको बताउनुभएको छ । आज काठमाडौमा श्वेतशार्दूल पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले मदन भण्डारीले संसदीय व्यवस्था स्वीकार गरेर कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई बचाएको भन्दै उहाँको प्रशंसा गर्नुभयो ।

सोहि क्रममा मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) अहिले भने अंशबण्डामा परेको उहाँको भनाइ छ । पूर्व सभामुख ढुङ्गानाले एमाले विभाजनलाई लक्षित गर्दै भन्नुभयो, ‘अहिले त जबज पनि अंशबण्डामा परेको छ । अंशबण्डामा कता पर्ने हो थाहा छैन ।’

उहाँले कम्युनिस्ट पार्टीहरू फुट हुनुको कारण समेत उल्लेख गर्नुभयो । कम्युनिस्टहरू मिलेर भन्दा पनि एकै जनामा केन्द्रित हुने प्रवृत्तिका कारण फुटेको उहाँको टिप्पणी छ ।