काठमाडौं — सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा पास गरेर स्मार्ट कार्डको पर्खाइमा बसेका व्यक्तिहरुले अब छिट्टै पाउने भएका छन् । फ्रान्सबाट १४ लाख थान स्मार्टकार्ड ल्याउने प्रक्रिया सुरु भएको र अब छिट्टै सवारी चालक अनुमति पत्र उपलब्ध गराइने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भूषालले जानकारी दिनुभएको छ ।


प्रवक्ता भूषालका अनुसार स्मार्ट कार्ड ल्याउने सबै प्रक्रिया पुरा भइसकेको र अबको एक महिनाभित्र आइपुग्ने बताउनु भयो । अहिले ल्याउन लागिएको स्मार्ट कार्डले यो वर्षलाई पुग्ने र अर्को वर्षको लागि पनि खरिद प्रक्रिया अघि बढाइने प्रवक्ता भूषालले जानकारी दिनुभयो ।
स्मार्टकार्डको मौज्दात सकिँदै गएपछि विभागले करिब ५ महिनादेखि कार्ड छाप्न छाडेको थियो । तर विदेश जानेहरुका लागि मात्र विभागले अत्यावश्यक स्मार्ट कार्ड उपलब्ध गराउँदै आएको छ ।


प्रवक्ता भूषालका अनुसार हालसम्म नयाँ र नवीकरण गरी ७ लाख कार्ड छाप्न बाँकी रहेकोे छ । सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड ल्याउनका लागि खरिद प्रक्रिया लामो भएको र कोरोना भाइरसको महामारीका कारणले पनि स्मार्ट कार्ड ल्याउन ढिलाइ भएको विभागको भनाइ छ ।


विदेशबाट कार्ड ल्याउन समय लाग्ने भएको र त्यो समस्या हल गर्न स्वदेशी कम्पनीले छाप्न सक्छन् कि भन्नेबारे विभागले अध्ययन भैरहेको बताएको छ । कहिले कार्ड छाप्ने मास प्रिन्टर बिग्रने त कहिले छाप्ने कार्ड नै सकिएको भन्दै विभागले लाइसेन्स वितरणमा विलम्ब गर्दै आएको प्रति सर्वत्र आलोचना खेप्दै आएको छ ।


विना पूर्वाधार स्मार्ट कार्डको नीति अवलम्बन गरेको विभागको चरम लापरवाहीका कारण सर्वसाधारण जनताले ठूलो सास्ती खेप्दै आएका छन् । अहिले विभागले ट्रायल पास गरेकालाई परीक्षणकालीन स्मार्टकार्ड वितरण गरिरहेको छ । आवश्यकता अनुसार विभागले स्मार्टकार्ड वितरण गर्न नसकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्मार्टकार्डको विकल्प खोज्न थालेको छ ।