काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सात जिल्लामा वडा अधिवेशन सुुरु भएको छ । वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज काठमाडौंसहितका सात जिल्लामा सुरु भएको हो ।


काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, कपिलवस्तु, बर्दिया र बाजुरामा वडा अधिवेशन भएको छ । बाँकी १३ जिल्लाको भने क्रियाशील सदस्यता विवरणको विवाद नसुल्झिदासम्म यि जिल्लाको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो छैन ।


यसअघि ५७ वटा जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । यस नेपाली काङ्ग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि सुरु भएको हो । प्रदेश नं २ का आठ जिल्लाका साथै रसुवा, रुपन्देही, सुर्खेत, कैलाली र डोल्पा गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण टुंगो नलागेसम्म अधिवेशन हुने सम्भावना देखिंदैन ।


नेपाली काङ्ग्रेसले महाधिवेशन अन्तर्गत असोज ९ गते, गाउँ र नगरपालिकाको, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते हुने भनि तोकिएको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भनिएको छ । महाधिवेशको मिति नजिकिंदै गर्दा काङ्ग्रेसले पार्टी भित्रको विवाद मिलाउन सकेको छैन । महाधिवेशन पटक पटक सर्दै आएको छ ।