काठमाडौं – सरकारले गत असार १ गते आइएको बाढीपहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको हो ।

सरकारले प्रतिस्थापन बजेटमार्फत् मेलम्ची खानेपानी आयोजनाको मर्मत गरी आगामी चैत महिनासम्म उपत्यकमा पानी ल्याउने बताएको थियो । यसअघि मेलम्ची खानेपानी विकास समितिले अस्थायी रूपमा उपत्यकामा चैतसम्ममा खानेपानी वितरण गर्न सकिने कार्ययोजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरण गर्न आयोजनाले सरकारसँग दुई अर्ब रुपैयाँ माग गर्दै सरकारलाई कार्ययोजना बुझाएको थियो ।

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार सरकारबाट आर्थिक स्रोतको सुनिश्चितता भएसँगै सम्बद्ध निकायहरूसँग छलफल गरी आयोजनाको काम अगाडि बढाउने तयारी भइरहेको छ । प्रवक्ता पन्तका अनुसार आगामी चैतसम्म उपत्यकामा अस्थायी रूपमा भए पनि मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा पठान्तरण गर्ने गरी कामलाई अगाडि बढाउन गृहकार्य भैरहेको छ । अझै पानी परिरहेकोले मेलम्चीमा बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दा तत्काल काम अगाडि बढाउने सम्भव नरहेको भन्दै सम्भवत दशैंपछि आयोजना पुनर्निर्माणको काम छिट्टै सुरु गरिने प्रवक्ता पन्त नवसञ्चार अनलाईनलाई बताउनु भयो ।

प्रवत्तला पन्तका अनुसार अहिले आयोजनाको मुहानसम्म पुग्ने वैकल्पिक सडक निर्माण भइरहेको छ । अबको एक महिनाभित्र सो सडक तयार हुने र त्यसपछि आयोजना स्थलमा पुगेर काम अगाडि बढाइने छ । आयोजनाको मुख्य सुरुङ पूर्ण रूपमा सुरक्षित रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको प्रवक्ता पन्तको भनाइ छ ।

मेलम्चीको पानी काठमाडौँ ल्याउन तत्काल दुईवटा अस्थायी सुरुङ र हेडवक्र्सको मर्मत तथा पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको आयोजनाले बताएको छ । आयोजना स्थल पुग्न मुख्य प्रवेश मार्गमा तीनवटा र अम्बाथान क्षेत्रमा पाँचवटा पुल निर्माण गर्नुपर्ने छ । असार १ गते आएको बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँचवटा पुल बगाएको थियो ।

प्रवक्ता पन्तका अनुसार यसअघि जुन प्रणालीबाट पानी ल्याइएको थियो, सोही प्रणालीबाट पुनः पानी ल्याउन सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले अम्बाथानमा रहेको ‘अडिट टनेल’ र ‘डाइभर्सन टनेल’ सफा गर्नुपर्ने हुन्छ । अम्बाथानमा रहेको २ सय ९८ मिटर अस्थायी ‘डाइभर्सन टनेल’ मा जम्मा भएको गेग्य्रान सहित थुप्रिएको फोहोर सफा गर्नु पर्नेे छ ।